हेटौंडा/ मकवानपुरमा सम्पन्न स्ववियु निर्वाचन २०८१ अन्तर्गत अनेरास्ववियुबाट विजयी पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको छ। नेकपा एमाले मकवानपुरको जनसंगठन समन्वय संयन्त्रले बिहीवार पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै विजयी उम्मेदवारहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो।
जिल्लाका आठ क्याम्पसमध्ये मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वंशगोपाल क्याम्पसमा अनेरास्ववियुले सभापति जित्न सफल भएको छ। तीमध्ये तीन क्याम्पसमा निर्वाचनमार्फत् र वंशगोपाल क्याम्पसमा सर्वसम्मतिबाट अनेरास्ववियु सभापति चयन भएका थिए।
कार्यक्रम जनसंगठन संयन्त्रका प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सदस्य केदारप्रसाद न्यौपाने, पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, जिल्ला अध्यक्ष श्रीधर पोख्रेललगायत नेताहरूले विजयी विद्यार्थी नेतालाई टिका, माला लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा पार्टी अध्यक्ष पोख्रेलले निर्वाचित विद्यार्थी नेताहरूलाई क्याम्पसमा अनेरास्ववियुको प्रभाव बलियो बनाउने गरी काम गर्न निर्देशन दिए। संयन्त्र प्रमुख पौडेलले मकवानपुरमा अनेरास्ववियु लोकप्रिय संगठनका रूपमा स्थापित भइरहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
यस अवसरमा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य अनन्त पौडेल, प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, बद्री लम्साल, भगवती पुडासैनी, जिल्ला उपाध्यक्ष हिदम लामा, सचिव सिता विष्टलगायतले आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा विद्यार्थी इञ्चार्ज आकाश अधिकारी, अनेरास्ववियु स्थायी कमिटी सदस्य किसन घिसिङ, जिल्ला इञ्चार्ज भुवन मैनाली, अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलालगायत अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण मिलन पाठकले गरेका थिए।







