हेटौंडा/ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको आकस्मिक अनुगमन गर्नुभएको छ। मन्त्री थापासँगै स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल पनि अनुगमन टोलीमा सहभागी हुनुहुन्थ्यो।
शुक्रबार भएको अनुगमनका क्रममा अस्पतालहरूको सेवा प्रवाह, उपलब्ध स्रोत–साधन तथा संरचनाको अवस्था सम्बन्धी जानकारी लिइएको थियो। मन्त्री थापाले अस्पतालहरूले आफ्नो क्षमताभन्दा बढी बिरामीको चाप सामना गरिरहेको बताए। उनले भने, “हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं।”
स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्री थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिँदै अस्पताल व्यवस्थापनलाई थप ध्यान दिन आग्रह गरे।

बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीहरूको चाप बढी रहेकाले सेवाको गुणस्तर कायम राख्न निर्देशन दिँदै मन्त्री थापाले प्रभावकारी योजना बनाउन आग्रह गरे। सचिव डा. गौतमले अस्पतालको सेवामा केही सुधार आएको उल्लेख गर्दै अझै सुधार आवश्यक रहेको बताइन्।

अनुगमन टोलीले अस्पताल भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरेको छ। साथै, आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरूसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
चिकित्सा महाशाखा प्रमुख डा. गेलालले समन्वयात्मक कार्यशैली अपनाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्य र मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले मन्त्रालयको निर्देशन अनुसार सेवा विस्तार सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







