मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान बस र म्याजिक गाडी आपसमा ठोक्किँदा म्याजिक चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटा का अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी ठोक्किँदा म्याजिक चालक गम्भीर घाइते भएका थिए।
घाइते भएका मकवानपुर, राक्सिराङ गाउँपालिका–४ निवासी ३२ वर्षीय सन्देश कोईरालालाई उपचारका लागि चितवन नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको थियो। तर, उपचारका क्रममा बिहान ४:१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
दुर्घटनापछि प्रहरी प्रशासनले बस चालकलाई नियन्त्रणमा लिएको छ। यस्तै, मृतक कोईरालाका आफन्तजनले विरोध जनाउँदै इलाका प्रहरी कार्यालय मनहरीअगाडि राजमार्ग अवरुद्ध गरेका छन्।
मृतक कोईराला मनहरीको रोटरी मार्केटमा तरकारी व्यवसाय गर्दै आएका थिए। दुर्घटनापछि आक्रोशित स्थानीय तथा आफन्तहरूले न्यायको माग गर्दै सडक अवरुद्ध पारेका हुन्। हाल घटनास्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाउँदै प्रदर्शनकारीलाई संवादका लागि आग्रह गरिरहेको प्रहरी सापकोटाले जानकारी दिएका छन्।।







