मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेपछि तीन बालकको मृत्यु भएको छ।
गत असोजमा कुलेखानी जलाशयको ड्यामबाट पानी छोडिँदा सिस्नेरी खोलामा बाढी आएको थियो। त्यसै क्रममा खोलामा बनेको गहिरो दहमा पौडी खेल्न गएका घोरासैनी दाजुभाइ र उनीहरूका मामाको छोरा डुबेका हुन्।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी ड्यामबाट पानीको व्यवस्थापन नहुँदा खोलामा उत्पन्न हुने जोखिमका कारण धेरैले ज्यान गुमाउनुपरेको बताए।
सोमबार दिउँसो करिब ४:३० बजे उनीहरू डुबेपछि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले घटनाको पुष्टि गरिन्।
मृत्यु हुनेहरूमा इन्द्रसरोवर–३, सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–१०, फुलबारी दाप्चाका १४ वर्षीय प्रवेश घोरासैनी र उनका ११ वर्षीय भाइ प्रभात घोरासैनी रहेका छन्। प्रहरीका अनुसार आचार्य मामाका छोरा हुन् भने घोरासैनी दाजुभाइ हुन्।
तीनैजनालाई डुबानबाट गम्भीर घाइते अवस्थामा पाटन अस्पताल पुर्याइए पनि उपचारका क्रममा साँझ ७:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। हाल उनीहरूको शव सोही अस्पतालमा राखिएको छ।







