हेटौंडा/ प्रदेश युवा परिषद् बागमती र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सुरु गरिएको छ। नवाचार र उद्यमशीलताको प्रवर्द्धन गर्दै युवा स्टार्टअपहरूलाई परामर्श, वित्तीय सहायता तथा प्रविधिगत सहयोग उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमलाई निरन्तरता दिन दुवै संस्थाबीच समझदारीपत्र (MOU) आदान–प्रदान गरिएको छ। उक्त कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडल, पूर्वअध्यक्ष एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, कार्यालय प्रमुख रमेश घिमिरे, स्ववियू सभापति प्रसिद्ध रेग्मी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले नवप्रवर्तनशील सोचलाई व्यवसायमा रूपान्तरण गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। छनोट गरिएका युवा उद्यमीहरूलाई स्टार्टअप इन्क्यूबेटरमार्फत व्यवसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन तथा डिजिटल मार्केटिङसम्बन्धी ज्ञान प्रदान गरिनेछ। साथै, स्टार्टअप एक्सपो, इनोभेशन समिट तथा अन्य कार्यक्रममार्फत नवप्रवर्तनशील स्टार्टअपहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाइनेछ।
परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंका अनुसार, यस कार्यक्रमले स्थानीय उत्पादन प्रवर्द्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न योगदान दिनेछ। साथै, प्रतिभावान् युवाहरूलाई स्वदेशमै अवसर प्रदान गरी ‘ब्रेन ड्रेन’ न्यूनीकरणमा मद्दत गर्ने विश्वास गरिएको छ।
कार्यक्रम अन्तर्गत नवप्रवर्तक तथा स्टार्टअपहरूलाई वित्तीय सहायता तथा लगानी व्यवस्थापनका विभिन्न उपायहरू अपनाइनेछ। प्रतिस्पर्धी रूपमा अनुदान वा बीउ पुँजी (Seed Fund) प्रदान गरिने, लगानीकर्तासँग जोड्ने अवसर उपलब्ध गराइने तथा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने योजना छ।
कार्यक्रम आयोजकहरूले इच्छुक युवाहरूलाई आवेदन दिन आह्वान गर्दै नवप्रवर्तनशील सोचलाई मूर्तरूप दिन सक्रिय सहभागिताको आग्रह गरेका छन्।







