हेटौंडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गर्ने भएको छ।
विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर मीनाकुमारी लामाले हेटौंडा–११ थानाभर्याङमा विद्यालय सञ्चालन गर्न बजेट व्यवस्थापन गरिने घोषणा गरिन्।
उपमहानगरपालिकाले हाल महिलाका लागि भवन निर्माण गरिरहेको स्थानमै विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ। मेयर लामाका अनुसार निजी विद्यालयहरूले अटिजम भएका बालबालिकाका लागि उच्च शुल्क लिँदा अभिभावकलाई समस्या भएको गुनासो आएपछि सबै वर्गका परिवारलाई लक्षित गरी विद्यालय स्थापना गर्न लागिएको हो।
जनचेतना दिवसकै अवसरमा हेटौंडा–४ स्थित सेन्टर फर अटिजममा आयोजित कार्यक्रममा उनले अटिजम र शारीरिक अशक्तता भएका बालबालिकालाई एउटै समूहमा राख्दा समस्या देखिएको बताइन्। “सबै बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोचसहित काम गरिरहेकै छौं। अहिले यो विषय गम्भीर बनेकाले सुधार गर्दै जानेछौं,” उनले भनिन्।
मेयर लामाले अभिभावकहरूलाई आफ्ना बालबालिकाको अवस्था पहिचान गरी उचित विद्यालय छनोट गर्न आग्रह गरिन्। मन्टेश्वरी तथा निजी विद्यालयमा बालबालिकाको अवस्थाबिना भर्ना गरिँदा समस्या झन् बढ्ने बताउँदै उनले सचेत रहन आग्रह गरिन्।
हाल हेटौंडा उपमहानगरपालिकामा ३२ जना अटिजम भएका बालबालिकाले सेन्टर फर अटिजममा अध्ययन गरिरहेका छन्। संस्थाका उपाध्यक्ष शेखर थपलियाका अनुसार अभिभावकहरूले बालबालिकाको अवस्था नबुझ्दा थप चुनौती उत्पन्न भएको छ। उपमहानगरपालिकाले व्यवस्थित विद्यालय सञ्चालनका लागि आवश्यक गृहकार्य गरिरहेको जनाएको छ।







