मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन तथा सीप परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दक्ष तर प्रमाणपत्रविहीन जनशक्तिको पहिचान गर्दै उनीहरूको सीपलाई बजारीकरण गर्ने विषयमा छलफल गरिएको थियो।
नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रदेश प्रबन्धक सुकबहादुर चौधरीले ‘सीप परीक्षण तथा प्रमाणीकरणमा हाम्रो भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नेपालमा प्राविधिक शिक्षा तथा तालिम दिने संस्थाहरूको वर्तमान अवस्था, वार्षिक रूपमा उत्पादन हुने दक्ष जनशक्ति, र श्रम बजारको विषयमा जानकारी गराएका थिए। चौधरीका अनुसार नेपालमा वार्षिक १ लाख १४ हजार दक्ष जनशक्ति उत्पादन हुने गरेको छ।
“हामी वार्षिक तीन पटक सीप परीक्षण गर्दै आएका छौँ,” चौधरीले भने, “हालसम्म ७.५ लाखले आवेदन दिए पनि करिब ७ लाखको मात्र सहभागिता रहेको छ। तिनमध्ये ५ लाखले प्रमाणपत्र प्राप्त गरिसकेका छन्।” प्रमाणपत्र प्राप्त गर्नेमा ४६.८७ प्रतिशत महिला रहेको पनि उनले जानकारी गराए।
सीप परीक्षणका क्रममा विभिन्न चुनौती रहेको बताउँदै चौधरीले प्राविधिक शिक्षालाई परिणाममुखी बनाउने, युवाहरूको योग्यता र सीपलाई प्रमाणित गर्ने तथा साधारण र प्राविधिक शिक्षाबीचको तालमेल मिलाउन आवश्यक रहेको उल्लेख गरे।
गाउँपालिका अध्यक्ष मुक्तानले पालिकाभित्रका सीपयुक्त तर प्रमाणपत्र नलिएका जनशक्तिलाई सीप परीक्षणमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे। उनले यस कार्यलाई निरन्तरता दिँदै रोजगार सिर्जनाका लागि आवश्यक पहल गरिने बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत इन्द्रप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिवहरू तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।







