हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीले चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरूले सञ्चालन गरेका हिंसात्मक गतिविधिको विरोधमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापनपत्रमार्फत पार्टीले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा गरिएको तोडफोड, पत्रकारलाई जीवितै जलाएर गरिएको निर्मम हत्या, आमनागरिकलाई गोली हानी हत्या, व्यापारिक भवन तथा सर्वसाधारणको घरमा आगजनी, तोडफोड तथा चोरीजस्ता आपराधिक गतिविधिको कडा निन्दा गर्दै यस्ता घटनामा संलग्न दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ।
ज्ञापनपत्र जिल्ला कमिटी अध्यक्ष विष्णु दाहालले बुझाउनुभएको थियो। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उक्त ज्ञापनपत्र तुरुन्त प्रधानमन्त्री कार्यालयमा पठाइने प्रतिबद्धता जनाउनुभएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजवादी नेतृ मुनु सिग्देल, हेटौंडा उपमहानगरकी मेयर मिनाकुमारी लामा, साथै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।







