बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले बुधबार हेटौंडास्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन्। सेवा प्रवाहको प्रभावकारिताबारे चासो व्यक्त गर्दै मन्त्री महर्जनले सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गरी गुनासो तथा सुझाव संकलन गरेका थिए।
सेवाग्राहीहरूले दस्तुर तथा कर बैंकमार्फत तिर्ने क्रममा दोहोरो लाइन बस्नुपर्ने झन्झटका विषयमा गुनासो व्यक्त गरेका थिए। उक्त समस्या समाधानका लागि आवश्यक सुधार गर्ने प्रतिवद्धता मन्त्री महर्जनले जनाए।
उनले यातायात सेवा प्रवाह तथा राजस्व भुक्तानीलाई प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकारले विद्युतीय प्रणालीमार्फत सेवा दिने नियमावली २०७८ लागू गरिसकेको जानकारी गराए। मन्त्रालयको वेबसाइट https://tmis.bagamati.gov.np बाट सवारी कर तिर्ने, बिल बुक नवीकरण गर्ने तथा सवारी विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरे।
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइबारे उठेका जिज्ञासामा मन्त्री महर्जनले हाल सवारी चालक अनुमति पत्र नागरिक एपमार्फत हेर्न सकिने व्यवस्था कार्यान्वयनमा आइसकेको बताए। अबको चरणमा QR कोडसहितको लाइसेन्स कार्ड छपाई गरी वितरण गरिने जानकारीसमेत दिए।
ड्राइभिङ लाइसेन्ससहितका सेवा प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्दै अनलाइन प्रणालीमार्फत सहज बनाउने उद्देश्यले नयाँ प्रणाली विकास अन्तिम चरणमा रहेको उनले स्पष्ट पारे।
अनुगमनका क्रममा कार्यालय प्रमुख प्रविण श्रेष्ठले हाल सेवा प्रवाहमा लाग्ने समय प्रचलित कानुनी प्रक्रिया र कार्यविधिका कारण रहेको बताए। यदि आवश्यक परे कानुनी संशोधनमार्फत विद्युतीय सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने सुझाव उनले मन्त्रीको ध्यानाकर्षण गराए।
मन्त्री महर्जनले सवारी साधन डिजिटलीकरणको प्रगतिबारे स्थलगत जानकारी लिएर हौसला प्रदान गरेको विश्वास प्रमुख श्रेष्ठले व्यक्त गरे।
साथै, हालै इम्बोस्ड नम्बर प्लेट जडानका लागि तयारी भइरहेकाले आउँदो वैशाख महिनाबाट उक्त कार्य सुरु गरिने जानकारी समेत प्रमुख श्रेष्ठले मन्त्रीलाई दिएका थिए। मन्त्री महर्जनले प्रयोगात्मक परीक्षण स्थलको पनि निरीक्षण गरेका थिए।







