हेटौंडा–१८ हर्नामाडीका २९ वर्षीय विमल ढुंगाना मृत अवस्थामा फेला परेका छन्।
गएराति मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानी बजारमा हेटौंडा–सिन्धुली सडकखण्डमा भएको बस दुर्घटनामा सामान्य घाइते भएका ढुंगानालाई मकवानपुर सहकारी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि उनी घर फर्किएका थिए।
डिस्चार्जपछि हेटौंडा–११, नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदय हटुवालको घरमा बास बसेका ढुंगाना शुक्रबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
ढुंगाना भीमफेदी गाउँपालिकामा पशु प्राविधिकका रूपमा कार्यरत थिए। उनी भीमफेदी गाउँपालिकाको चार दिने भ्रमणबाट फर्कने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा ढुंगानासहित ३१ जना घाइते भएका थिए, जसमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको बस ढुंगानाकै स्वामित्वमा रहेको र त्यसपछि उनी तनावमा देखिएको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको छ भने शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।








