कैलाश गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिततासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा आयोजित कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। प्रमुख मिजारले मातृत्व स्वास्थ्यको राष्ट्रिय र स्थानीय अवस्था, सम्बन्धित नीति तथा मापदण्डहरू, संस्थागत सुत्केरी कार्यक्रम, कार्यक्षेत्र र गतिविधिबारे कार्यपत्र प्रस्तुत गर्दै विस्तृत जानकारी दिएका थिए।
उनका अनुसार कैलाश गाउँपालिकामा अघिल्लो वर्ष गर्भजाँच १०८.५७ प्रतिशत भए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म यो दर ८१.२१ प्रतिशतमा झरेको छ। १२ हप्ताभित्रको गर्भजाँच दर अघिल्लो वर्ष ९९.२२ प्रतिशत रहेकोमा चालु आवमा ६०.८६ प्रतिशत मात्र रहेको पनि उनले उल्लेख गरे।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या घट्दो क्रममा रहेको जनाउँदै मिजारले यस वर्ष फागुनसम्म ४२.७४ प्रतिशत मात्र महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गरेको बताए। कैलाशमा मात्रै ४४ जना महिलाले घरमै सुत्केरी गरेको तथ्य प्रस्तुत गर्दै होम डेलिभरीको संख्या बढ्दो रहेकोमा चिन्ता व्यक्त गरे।
उनले सुत्केरी पश्चातको जाँच ४७.८७ प्रतिशतमा सीमित रहेकाले यसलाई बढाउन स्वास्थ्यकर्मीहरूलाई थप सक्रिय हुन आह्वान गरे। जनस्वास्थ्य कार्यालय सधैं सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे।
गाउँपालिका अध्यक्ष मुक्तानले होमडेलिभरी घटाउन शिक्षा र जनचेतनामा जोड दिँदै, दीगो विकास लक्ष्य (SDG) २०३० अनुरूप स्वास्थ्य र शिक्षा सूचक सुधारमा पालिका प्रतिबद्ध रहेको बताए। वडा ७ मा बढी घरमै सुत्केरी हुने अवस्थालाई उदाहरण दिँदै उनले आवश्यक समन्वयका साथ सुधार प्रयास जारी रहने बताए।
उनले गाउँपालिकाले सुरु गरेको “शौचालय कार्ड” कार्यक्रमबारे पनि जानकारी दिँदै सरसफाइ र पोषणप्रति सचेत रहन आग्रह गरे। चिसो र पत्रु खानाको सेवनले दीर्घकालीन असर पर्ने भन्दै सावधानी अपनाउन अनुरोध गरे।
गाउँपालिकामा वर्थिङ सेन्टर सञ्चालन भइरहेको र केही वडामा थप आवश्यक रहेको उल्लेख गर्दै आवश्यक तयारी भइरहेको बताए। उपाध्यक्ष बालकुमार मल्लले पनि सुत्केरी स्वास्थ्य संस्थामै गराउनु पर्नेमा जोड दिँदै घरमै सुत्केरी गराउने चलन हटाउन जनचेतना फैलाउनुपर्ने धारणा राखे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगरलगायतले धारणा राखेका थिए।
कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य तथा वडास्तरका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।







