नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टीको स्पष्ट दिशानिर्देशको बीचमा रहेर संविधान विरोधी, भ्रमपूर्ण प्रचार र गलत बाटो अँगाल्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार हेटौंडामा आयोजित एमाले हेटौंडा उपमहानगर कमिटीको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै नेता रानाले पार्टी एकताको महत्वलाई दोहोर्याउँदै सामूहिक सोच र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
“एकता भयो भने कसैले कमजोर बनाउन सक्दैन। आफैमा केन्द्रित भएर होइन, सामूहिकतामा सोच्नुपर्छ,” उनले भने, “लोकतान्त्रिक गतिविधिलाई बलियो बनाउँदै अघिबढ्नु पर्छ।”
उनले पार्टी कर्मचारीतन्त्रमा मात्र भर नपर्ने स्पष्ट पार्दै, सामूहिक सहभागितामै संगठन बलियो हुने बताए। साथै, हाल पार्टीले सञ्चालन गरिरहेको “पार्टीको जरा” अभियानको समिक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए।
कार्यक्रममा एमालेका वरिष्ठ नेता डोरमणी पौडेल, केदार न्यौपाने, एकालाल श्रेष्ठ, जुनेली श्रेष्ठ लगायत नेताहरूको उपस्थिति रहेको थियो। नगर अध्यक्ष बोल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनवादी गीतहरूको सांगीतिक प्रस्तुति समेत गरिएको थियो।







