मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरमा भएको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानले यस्तो अवाञ्छित र आपत्तिजनक गतिविधिको कडा भर्त्सना समेत गरेको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्ड तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य गैरकानुनी भएको उल्लेख गरिएको छ।
२०७६ साल असोज २ गते बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल सञ्चालनमा छ। प्रतिष्ठानले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिनुका साथै अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएको छ।
प्रतिष्ठानका अनुसार हाल अस्पतालमा १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १५०० भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको छ। यस्ता सेवामूलक अवस्थामा गरिएको तोडफोडले अस्पताललाई पुनः रेफर सेन्टरमा फर्काउने नियत राख्ने स्वार्थ समूहहरूलाई मात्रै फाइदा पुर्याउने विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यस्ता गैरकानुनी कार्यहरूले उपचाररत बिरामी, स्वास्थ्यकर्मी र सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न गराएको विज्ञप्तिमा जनाइएको छ।
प्रतिष्ठानले घटनामा संलग्न दोषीलाई छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई संयमता र सहयोग गर्न आग्रह गरेको छ।







