पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान भएको बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।
इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुवाहक बस बिहान करिब ४:५० बजेको समयमा सडकबाट झन्डै १० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरीक्षक शिवजी दाशको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। साथै, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी नायब निरीक्षक अर्जुन प्रसाद देवकोटाको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले घाइतेमध्ये १६ जनालाई तत्काल उद्धार गरी उपचारका लागि चितवन पठाएको छ। प्रारम्भिक जानकारीअनुसार घाइतेहरूको अवस्था मध्यम रहेको बुझिएको छ।
दुर्घटनामा परेको बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ का २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार स्टीयरिङ लक भएर मोड काट्न नसक्दा बस दुर्घटनामा परेको बताइएको छ।
घटनास्थल सुनाचुरी प्रहरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्दछ। सडकमा सवारी अवरोध नभएको र बस हालैसम्म पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।







