बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन प्रक्रिया सुरु गरेको छ। आइतबार मन्त्रालयका सचिव डा. सुमीत्रा गौतमको नेतृत्वमा रहेको टोलीले काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको हो।
अस्पतालले २०० शय्याको नवीकरणका लागि मन्त्रालयमा विद्युतीय प्रणालीमार्फत आवेदन दिएको थियो। त्यसपछि मन्त्रालयले सम्बन्धित कानुनी प्रावधान, जनशक्ति, उपचार सेवा, प्रयोगशाला, संक्रमण नियन्त्रण, विपद् व्यवस्थापनलगायतका मापदण्डका आधारमा निरीक्षण गरेको हो।
अनुगमनका क्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले टोलीलाई हालको सेवा, सञ्चालन प्रक्रिया र आगामी विस्तार योजनाबारे जानकारी गराउँदै, सन् २०२५ भित्र अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्ने योजना रहेको बताए। उनले उक्त योजना पश्चात् नेपालको निजी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गेलालले अनुगमन नियमित प्रक्रिया भएको बताउँदै भने, “स्वास्थ्य संस्थाहरूले निर्धारित मापदण्ड पूरा गरिरहेका छन् कि छैनन् भन्ने बुझ्न यस्ता निरीक्षण आवश्यक हुन्छ। नर्भिकले प्रदेश सरकारको स्वास्थ्य नीतिअनुसार विस्तार योजना अघि बढाएको देख्दा सन्तोष लागेको छ।”
टोलीले अस्पतालको भौतिक संरचना, सरसफाइ, बिरामी सेवा प्रणाली र स्वास्थ्य सुरक्षा मापदण्डसमेत अवलोकन गरेको थियो। अस्पतालले दक्ष विशेषज्ञ टोली, अत्याधुनिक उपकरण र प्रभावकारी सेवा प्रवाहमार्फत हरेक वर्ष हजारौं बिरामीलाई सेवा दिँदै आएको प्रमुख कार्यकारी अधिकृत मिश्रको भनाइ थियो।
अस्पताल प्रशासनले बागमती प्रदेश सरकारसँगको सहकार्यलाई सकारात्मक रूपमा लिँदै आगामी दिनहरूमा अझ सस्तो, सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
अनुगमन पश्चात् मन्त्रालयको प्रारम्भिक मूल्याङ्कनमा अस्पतालको सेवा सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया प्राविधिक मूल्याङ्कनपछिको निर्णयअनुसार अघि बढाइने मन्त्रालयका प्रवक्ता डा. गेलालले जानकारी दिनुभयो।
अनुगमन टोलीमा मन्त्रालयका प्रवक्ता डा. रबिन भुषाल, कानुन अधिकृत जेनिशा चुवान, नर्सिङ अधिकृत स्वेता मानन्धरलगायतको उपस्थिति रहेको थियो।







