कैलाश गाउँपालिकामा १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ। गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिमको आयोजना गरेको हो।
सोमबार सम्पन्न समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले परम्परागत खेती प्रणालीबाट कृषकहरू आधुनिक प्रविधितर्फ आकर्षित हुँदै गएको बताए। उनले गाउँपालिकाभित्र कृषक समूह र व्यक्तिगत रूपमा अनुदानमार्फत वितरण गरिएका करिब पाँच सय बढी हाते ट्याक्टरमध्ये मर्मत अभावका कारण थन्किएर बस्नुपरेको समस्याको अब अन्त्य हुने उल्लेख गरे। “अब यी ट्याक्टरहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याउन सकिनेछ,” अध्यक्ष मुक्तानले बताए।
अध्यक्ष मुक्तानका अनुसार, पूर्वमा मर्मतका लागि मनहरी वा हेटौंडाबाट प्राविधिक बोलाउनु पर्ने बाध्यता थियो, जसले कृषकहरूमा आर्थिक भार थपिन्थ्यो। तर अब तालिम प्राप्त कृषकहरूले सामान्य मर्मत आफ्नै गाउँमै गर्न सक्नेछन्। उनले माटोको अवस्था र रसायनिक मल प्रयोगले उत्पादन क्षमतामा पारेको प्रभावबारे पनि सचेत हुन आग्रह गरे।
उपाध्यक्ष बालकुमार मल्लले तालिमको माध्यमबाट कृषकहरूले न केवल आफ्नो ट्याक्टर मर्मत गर्न सक्ने तर अन्यको मर्मतमार्फत आम्दानीको स्रोत पनि बनाउन सक्ने बताए। प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै यसले गरिबी निवारणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, स्रोत र समय अभावका कारण तालिम सीमित भए पनि आगामी दिनमा थप तालिम सञ्चालन गरिने जानकारी दिए।
वडा नं. ८ का वडाध्यक्ष आशिष प्रजाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तान प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, वडा सदस्य विविराज थिङ, प्रशिक्षक दुर्गाबहादुर बोम्जन, वडा नं. ७ का सचिव प्रकाश अर्याल, उद्यम विकास प्रमुख प्रमिला अर्याल, कृषि प्राविधिक प्रताप थिङ लगायतको उपस्थिति रहेको थियो।
चैत्र २९ गते वडा नं. ८ भार्तामा सुरु भएको उक्त तालिम १० दिनसम्म सञ्चालन भएको हो। उद्यम विकास प्रमुख प्रमिला अर्यालका अनुसार तालिममा १६ जनाको सहभागिता रहेको थियो भने तालिम दुर्गाबहादुर बोम्जनले प्रदान गरेका थिए। सहभागीहरूले सामान्य मर्मतका लागि पनि बाहिरबाट प्राविधिक बोलाउँदा खर्चिलो हुने तर अहिलेको तालिमले त्यो समस्या समाधानमा टेवा पुगेको बताएका छन्।







