कैलाश गाउँपालिका–९, नामटारमा गृहिणी तथा किशोरी महिलाहरूलाई लक्षित गर्दै ३३ दिने व्युटिसियन तथा मेकअप तालिम सुरु गरिएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष भूवनसिं घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अध्यक्ष मुक्तानले कैलाश गाउँपालिकामा पहिलोपटक सञ्चालनमा आएको यस्तो खालको तालिम महिलाहरूको सीप विकास, आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनमा सहायक हुने विश्वास व्यक्त गरे।
“सीप सिकेर आत्मनिर्भर बन्ने हो भने तालिमको भरपुर उपयोग गर्नु आवश्यक छ,” अध्यक्ष मुक्तानले भने, “छोरा मान्छेलाई कपाल काट्न जति आवश्यक छ, छोरी मान्छेलाई श्रृङ्गार पनि त्यत्तिकै जरूरी हुन्छ।” उपाध्यक्ष बालकुमार मल्लले पनि तालिमले महिलाहरूलाई व्यक्तिगत तथा व्यवसायिक दुवै पाटोमा उपयोगी हुने उल्लेख गरे।
कार्यक्रममा हिमगंगा ग्रामीण विकास केन्द्र काठमाडौंकी अध्यक्ष इन्दिरा न्यौपाने, वडा सचिव पुजा बल्लभ, महिला शाखा प्रमुख रमिला सापकोटा, तथा तालिम प्रशिक्षक माला श्रेष्ठ लगायतको उपस्थिति थियो। तालिममा १८ जना गृहिणी तथा किशोरीहरूको सहभागिता रहेको छ। उनीहरूलाई दुलही श्रृङ्गारदेखि एडभान्स मेकअपसम्मको सीप प्रदान गरिने बताइएको छ।
यसै कार्यक्रमअन्तर्गत कैलाश–१०, कुमलटारमा सञ्चालित १५ दिने ह्याण्डीक्राफ्ट तालिमको समापन पनि गरिएको छ। जनजागरण नेपालले आयोजना गरेको तालिममा २० जनाको सहभागिता रहेको थियो। तालिममा सहभागी महिलाहरूले कुरुषबाट गलबन्दी, झोला, टोपी, लेबन्टु लगायतका सामग्री बनाउने सीप सिकेका थिए।
समापन समारोहमा अध्यक्ष मुक्तानले सहभागीहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। “अब तपाईंहरू समूहमा आबद्ध भएर उद्यम गर्न सक्नुहुन्छ, गाउँपालिकाले आवश्यक सहयोग गर्न तत्पर छ,” उनले भने।
सहभागी तीर्थकुमारी मुक्तानले तालिमलाई अझै एडभान्स रूपमा लिन पाए व्यवसायिक बन्न सकिने बताइन्। जनजागरण नेपालका अध्यक्ष लक्ष्मी गोलेले तालिममार्फत महिलाहरूलाई उद्यमशीलता सम्बन्धी ज्ञान पनि प्रदान गरिएको जानकारी दिए।
यी तालिमहरू महिलाको आत्मनिर्भरता, सीप विकास र आर्थिक सशक्तीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।







