कैलाश गाउँपालिका–९ का खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदायको रूपमा घोषणा गरिएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले औपचारिक रूपमा सो घोषणा गरेका हुन्।
अध्यक्ष मुक्तानले सरसफाई र खानेपानीका सूचकहरू केवल घोषणाका लागि मात्र नभई दीर्घकालीन रूपमा पनि पालना गर्नुपर्ने बताए। “स्वास्थ्य, शिक्षा, सरसफाई र खानेपानी सबै दीगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छन्,” उनले भने। साथै, गाउँपालिकाले विभिन्न संघसंस्थासँगको सहकार्यमा यी क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिए।
अध्यक्ष मुक्तानले सरसफाई अभियानमा महिला दिदीबहिनीहरूको भूमिकालाई महत्वपूर्ण मान्दै आगामी दिनमा पनि सूचकहरूको पालना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले वडाका अन्य टोलहरूमा पनि यो अभियान विस्तार गरी वडा–स्तरीय पूर्ण सरसफाई घोषणा गर्ने लक्ष्य रहेको बताए।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले “एक घर, एक धारा” अभियानलाई सार्थक बनाउन खानेपानी तथा सरसफाई क्षेत्रमा सहकार्य गर्दै आइरहेको जनाउँदै, सफा पानी र स्वच्छ वातावरण रोगप्रतिरोध तथा स्वस्थ जीवनका लागि अपरिहार्य भएको बताए।
कार्यक्रममा आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाजलगायत विभिन्न संघसंस्थाको सहकार्यमा पाँच वटा मुख्य सूचक र २३ वटा उपसूचकको आधारमा समुदायलाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायले जानकारी दिए।
घोषणा पश्चात खैरेनी, घैराङटार र जोइटी टोललाई प्रमाणपत्र प्रदान गरिएको थियो। वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन, वडा सदस्य ज्ञानबहादुर घलान, नामटार स्वास्थ्य चौकी प्रमुख अमित श्रेष्ठ, विभिन्न सहकारी, विद्यालय तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







