हेटौंडा/‘पुनः लगानी, पुनः सोच र पुनः जागरण, हामीबाटै औलो निवारण’ भन्ने नाराका साथ शुक्रबार अप्रिल २५ का दिन देशभर विश्व औलो दिवस विविध सचेतनामूलक कार्यक्रममार्फत मनाइएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा समेत जनस्वास्थ्य कार्यालय मकवानपुरले सञ्चारकर्मीहरुमाझ औलो रोग सम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गर्दै औलोको जोखिम, निवारण उपाय तथा चुनौतीका विषयमा छलफल गरेको हो।
जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार औलो रोग संक्रमित एनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। विशेषगरी बालबालिका औलोको उच्च जोखिममा रहेका छन्। यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, थकान महशुस हुने, बान्ता हुने जस्ता लक्षण देखिन्छन्।
उनका अनुसार बागमती प्रदेशमा झण्डै १८ लाख १८ हजार जनसंख्या औलो जोखिममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १ लाख २६ हजार ६८ जनाको रक्त परीक्षण गरिएको थियो। सोही अवधिमा ९१ जना औलो संक्रमित भेटिएका थिए।
यस आर्थिक वर्ष २०८१/८२ को वैशाख ४ सम्ममा ७ सय ९२ जना औलो बिरामीको उपचार गरिएको छ, जसमा ३३ जना स्थानीय र ७ सय ५९ जना आयातित संक्रमित रहेका छन्। हाल प्रदेशमा औलो संक्रमण दर ०.०५ प्रतिशत र रक्त परीक्षण पोजेटिभ दर ०.०७ प्रतिशत रहेको जनाइएको छ।
औलो नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले बिरामीको पहिचान तथा उपचार, रक्त परीक्षण, सीमा नाका तथा समुदायमा शंकास्पद व्यक्तिको परीक्षण, प्रकोप नियन्त्रण, क्षमता अभिवृद्धि, सर्वेक्षण तथा अध्यायन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तर, औलो निवारणमा विभिन्न चुनौतीहरु पनि देखापरेका छन्। विकट भेगमा औषधी तथा स्वास्थ्य सामग्री समयमा पुर्याउन समस्या हुनु, किटनाशक औषधी तथा झुल आपूर्तिमा समस्या, स्वास्थ्यकर्मी तथा स्थानीय प्रतिनिधिमा औलोप्रति आवश्यक चेतना नहुनु, तथा अनुदान तथा सहयोगमा कमी आउनु प्रमुख चुनौतीका रुपमा रहेको जनाइएको छ।
नेपाल सरकारले सन् २०३० सम्म देशलाई औलोमुक्त बनाउने लक्ष्यसहित यस अभियानलाई प्राथमिकतामा राखेको छ।
यसैबीच, बागमती प्रदेशको मकवानपुर जिल्लामा आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा डेङ्गुका २ हजार ६ सय ५६, स्क्रब टाइफसका ४ सय ८९, कालाजारका ५ र औलोका १ जना बिरामी भेटिएको जानकारी कार्यालयले दिएको छ।








