हेटौँडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने कान्ति लोकपथ वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सवारी आवागमन पूर्णरूपमा बन्द हुने जानकारी दिएको हो। सडक मर्मत तथा चौडाइ विस्तारका लागि उक्त अवधीमा सवारी रोक्ने निर्णय गरिएको हो।
मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडकखण्डअन्तर्गत गँगटेनजिकैको भर्याङडाँडामा सडक चौडाइ विस्तारका लागि चट्टान कटान कार्य अघि बढाइँदैछ। यसै कारण सो क्षेत्र १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुनेछ।
यात्रा गर्न चाहने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। कान्ति लोकपथ सडक आयोजना चाकुपाट, ललितपुरमार्फत ठेक्का लिएको एमएस सर्वशक्ति पञ्चकन्या सनस्टार जेभीले उक्त सडक निर्माण कार्य गरिरहेको छ।







