मकवानपुर — भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू सीपमूलक काम गर्दै मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म कमाइरहेका छन्। कारागार प्रशासनले कैदीहरूलाई समाजमा पुनःस्थापना गराउने लक्ष्यसहित सीपमूलक कार्यमा संलग्न गराएपछि उनीहरू उत्साहित भएका छन्।
कारागारभित्र कैदीहरू कोही गलैँचा, कोही बाँसको मुढा, त कोही मैनबत्ती बनाउनमा व्यस्त छन्। धेरै कैदीबन्दी कुनै न कुनै सीप सिकेर आयआर्जन गरिरहेका छन्। केही कैदीहरूलाई त आफन्तसँग भेटघाट गर्नसमेत फुर्सद छैन।
कारागारकै १ नम्बर ब्लकमा रहेका जयबहादुर रुम्बाले कारागार जीवनले निराश बनाएको भए पनि गलैँचा बनाउने सीप सिकेपछि फेरि नयाँ आशा पलाएको बताए। “जेल जीवनले सकियो भन्ने लागेका बेला सीप सिकेर मासिक १६ हजार कमाउन थालेपछि आत्मबल बढेको छ,” उनले भने।
उनैसँगै रहेका भक्तबहादुर गुरुङले विगत चार वर्षदेखि गलैँचा बनाएर आम्दानी गरिरहेका छन्। “कम्पनीहरूले अर्डर गर्छन्, हामी गलैँचा बनाएर दिन्छौँ। गुणस्तर राम्रो भएकाले अर्डर पनि धेरै आउँछ,” उनले सुनाए।
हाल २ हजार जनाको क्षमता रहेको भीमफेदी कारागारमा १ हजार २४ जना कैदीबन्दी रहेका छन्। तीमध्ये अधिकांश लागुऔषध, ज्यानसम्बन्धी र जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका छन्।
कारागारभित्र बाँसको मुढा र मैनबत्ती बनाउन पनि कैदीहरू व्यस्त छन्। सीप सिकेर आयआर्जन गर्न सकिने भएकाले सुधारगृहको उद्देश्य पूरा भइरहेको कैदी सिताराम महतो बताउँछन्। “यहाँ जेल मात्र होइन, सीप सिकेर कमाइ गर्ने अवसर पनि छ,” उनले भने।
भीमफेदी कारागार प्रमुख सुवास पौडेलका अनुसार हाल २५० जना गलैँचा, १५० जना मुढा, ५० जना मैनबत्ती र पाँच जना पोते बनाउन संलग्न छन्। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उनीहरू नियमित रुपमा काम गरिरहेका छन्।
प्रमुख जेलर पौडेलले कैदीहरूलाई सीप विकास गराएर आयआर्जनको अवसर दिँदा राज्यको आर्थिक भार समेत कम हुने बताए। “सरकारले पनि कैदीलाई समाजमा पुनःस्थापना गर्नुपर्ने नीति लिएको छ,” पौडेलले भने, “त्यही अनुसार सीप सिकाउने र स्वरोजगार बनाउने काम अघि बढाएका हौँ।”







