हेटौंडा/ गत असोजको विनाशकारी वर्षाले क्षतिग्रस्त बनाएको हेटौंडा–काठमाडौं छोटो दूरीको कुलेखानी–सिस्नेरी–छैमले सडकखण्डको पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको छ। आइतबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले सडकको तीन विपद् प्रभावित क्षेत्रहरूमा भइरहेको पुनर्निर्माणको स्थलगत अनुगमन गरे।
निर्माण कम्पनी सिधुली दाहाल जेभीका प्रतिनिधि ऋषिराज पोखरेलका अनुसार, चैत्र ६ गते सम्झौता भएको ठेक्काअनुसार हालसम्म ४२ प्रतिशत काम सम्पन्न भइसकेको छ। पोखरेलले अनुगमनका क्रममा भने, “बैशाखसम्ममा टोटल ग्याबिङको काम सकिने र जेठ १५ सम्ममा सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढाइरहेका छौं।”
अनुगमनमा काठमाडौं दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, भौतिक पूर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नविन सिंह र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका प्रमुख देवनारायण यादव लगायत अधिकारीहरूको सहभागिता थियो।
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा र कुलेखानी जलाशयको पानी निकासका कारण सिमखोला, सिस्नेरी बजार र ज्यामिरे खण्डमा करिब एक किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो। उद्घाटनको अन्तिम चरणमा रहेको सडकमा भएको यस क्षतिले प्रदेश सरकारलाई करिब २० करोड रुपैयाँ नोक्सानी पुगेको सचिव श्रेष्ठले जानकारी दिए। विपत्तिपछि करिब एक साता हेटौंडा–काठमाडौं सम्पर्क विच्छेद भएको थियो। तत्कालीन अवस्थामा सिस्नेरी खोलाको बगर हुँदै अस्थायी मार्गको व्यवस्था गरिएको थियो।
अनुगमनका क्रममा मन्त्री मास्केले सिस्नेरी–दक्षिणकाली सडकखण्डको सलेन डाँडा, छैमले लगायत क्षेत्रहरूमा निर्माणका अवरोध र समस्याबारे जानकारी लिएका थिए। सो क्रममा उनले स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाहरूसँग समेत छलफल गरे। मन्त्री मास्केले ठेकेदारहरूलाई काममा ढिलाइ गरे कडा कारबाही गरिने चेतावनी दिएका छन्। “कुनै पनि ठेकेदारले नागरिकलाई हैरानी हुने गरी काममा ढिलासुस्ती गर्न पाउने छैन,” मन्त्री मास्केले स्पष्ट पारे।
हाल सिस्नेरी र ज्यामिरे खण्डमा प्लम्प वाल तथा मेसिनरी वाल निर्माण कार्य भइरहेको छ भने सिमखोलामा बेलीब्रिज स्थापना प्रक्रिया अघि बढाइएको छ। सचिव श्रेष्ठका अनुसार, पहिलो चरणमा ग्राभेल सडकमार्फत् यातायात सञ्चालन गर्ने र त्यसपछि मात्र पूर्ण स्तरोन्नति गरिने योजना रहेको छ।
दक्षिणकाली नगरपालिकाका मेयर बस्नेतले स्थानीयस्तरमा सडक निर्माणमा देखिएका अवरोध हटाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “सडक निर्माणमा देखिएका समस्याहरू समाधानका लागि सबै पक्षबीच स्पष्ट र समन्वित छलफल आवश्यक छ,” उनले भने।







