ओखलढुङ्गामा पछिल्ला ६ वर्षको अवधिमा चट्याङ लागेर १२ जनाले ज्यान गुमाएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्म चट्याङले १२ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्।
यस अवधिमा चट्याङका कारण लाखौँ रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पछिल्लो दुई वर्षमा मात्रै दुईजनाको ज्यान गएको र १० जना घाइते भएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म तीनजना चट्याङले घाइते भएका छन् भने १० वटा चौपायाको मृत्यु भएको छ। चट्याङका कारण विभिन्न विद्युतीय उपकरणहरूमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्र ६ स्थानमा चट्याङ पर्दा दुईजनाको मृत्यु र सातजना घाइते भएका थिए। सो अवधिमा तीनवटा घर प्रभावित भएका थिए भने पाँचवटा चौपायाको मृत्यु भएको तथ्याङ्क छ।
तर, जिल्लामा चट्याङबाट हुने क्षति न्यूनीकरणमा अपेक्षित ध्यान नदिइएको पाइएको छ। चट्याङबाट बच्न आवश्यक चेतना अभाव हुनुका साथै रोकथामका लागि ‘अर्थिङ’ जस्ता प्रविधिको प्रयोग प्रभावकारी रूपमा नभएको विज्ञहरूले बताएका छन्।
जिल्लाका एफएम रेडियो स्टेशन तथा अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने संस्थाहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्नु परेको जनाइएको छ।







