हेटौंडा/ बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले विद्युतीय गुनासो व्यवस्थापन प्रणालीको औपचारिक सुरुवात गरेको छ। अब नागरिकहरूले मन्त्रालयसँग सम्बन्धित सेवा तथा सुविधा सम्बन्धी गुनासो घरमै बसेर अनलाइनमार्फत दर्ता गर्न सक्ने भएका छन्।
मन्त्रालयका सचिव बद्रिनाथ गैह्रेका अनुसार, नागरिकहरूले मन्त्रालयसम्बन्धी कुनै पनि गुनासो https://gunaso.mosd.bagamati.gov.np/login मा लगइन गरी वा क्यूआर कोड स्क्यानमार्फत सजिलै दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
सचिव गैह्रेका अनुसार, “यस प्रणालीले नागरिकलाई सहज रूपमा गुनासो राख्न सक्ने अवसर प्रदान गर्नुका साथै सरकारको पारदर्शिता अभिवृद्धि गर्न सहयोग पुग्नेछ।”
मन्त्रालयका अनुसार, प्राप्त गुनासोको नियमित रुपमा सुनुवाइ गरिनेछ र यसले मन्त्रालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक सुधार ल्याउन मद्दत पुर्याउनेछ।







