भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत अवस्थामा फेला परेकी छन्। बिहीबार राति होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको छ।
शाह सो शिक्षालयको दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन् र होस्टेलमै बस्दै आएकी थिइन्। उनीसँगै अध्ययनरत रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार हाल प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ भने शव अझै कोठामै रहेको जानकारी दिएका छन्।
“एक्कासि यस्तो घटना हुँदा नेपाली मात्र होइन, सम्पूर्ण विद्यार्थी स्तब्ध भएका छन्। अहिले कोही बोल्ने अवस्थामा छैन, के भएको हो भन्ने खुल्न बाँकी नै छ,” लम्सालले बताए।
शाह अर्को एक नेपाली छात्रासँग होस्टेलमा बस्दै आएकी थिइन्। “उनी मेरी क्लासमेट थिइन्, मेहनती र शालीन थिइन्। यस्तो घटना देख्नुपर्ला भन्ने कल्पना पनि गरेका थिएनौं,” लम्सालले दुःख व्यक्त गरे।
यसअघि पनि यही शिक्षालयमा फागुन ४ गते रुपन्देहीकी २० वर्षीया विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेकी थिइन्। सो घटनापछि कलेज प्रशासन र कर्मचारीमाथि नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गरेको भन्दै विरोध प्रकट भएको थियो। लम्सालको परिवारले मानसिक दबाब र ब्ल्याकमेलको उजुरी दिएको थियो, जसपछि कलेजले माफी माग्दै दोषी कर्मचारीमाथि कारबाही सिफारिस गरेको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले समेत विश्वविद्यालयको भूमिका लापरबाहीपूर्ण रहेको ठहर गरेको थियो।
केआईआईटीमा हाल करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्। यस्ता घटनाहरू दोहोरिन थालेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा थप चिन्ता बढेको छ।
यसबीच, नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार बिहीबार बेलुकी करिब ८ बजेतिर शाह कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। भुवनेश्वर प्रहरीले शाहको परिवार नआएसम्म पोस्टमार्टम नगर्ने जानकारी दिएको छ।








