बागमती प्रदेश सरकारले सवारी साधनसँग सम्बन्धित सेवाहरूलाई डिजिटल माध्यममार्फत उपलब्ध गराउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ। अबदेखि सवारी धनी प्रमाणपत्र (ब्लु बुक) डिजिटल स्वरूपमा नागरिक एपमै प्राप्त गर्न सकिनेछ।
शुक्रबार काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा इ–ब्लु बुक प्रणालीको औपचारिक सुरुवात गरिएको हो।

सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै बागमती प्रदेश सरकारको यो पहललाई प्रविधिमा फड्को मार्ने उदाहरणीय कदमका रूपमा स्वागत गरे। उनले अन्य प्रदेशहरूले समेत यस्ता नवीनतम अभ्यासहरूबाट सिक्नु आवश्यक रहेको बताए।
श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनका अनुसार, यस प्रणालीमार्फत अब ब्लु बुक नविकरण, सवारी कर तिर्ने र अन्य पटके सेवाहरू समेत अनलाइनमार्फत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ। मन्त्रालयले यसअघि नै नागरिक एपमा डिजिटल लाइसेन्स सेवा लागू गरिसकेको थियो, जसअन्तर्गत ट्राफिक प्रहरीले क्यूआर कोडयुक्त इ–लाइसेन्सलाई मान्यता दिइसकेको छ।
डिजिटल सशक्तीकरणका लागि ट्राफिक प्रहरीलाई ५१२ थान मोबाइल हस्तान्तरण गरी आवश्यक पूर्वाधार तयार पारिएको मन्त्री महर्जनले जानकारी दिए। साथै, प्रदेश सरकारले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (बागमती ईडीएल) विकास गरेको छ, जसअन्तर्गत अब सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिक्स प्रयोग गरी डिजिटल लाइसेन्स प्रदान गरिनेछ।
टीआईएमएस प्रणालीलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरी सबै प्रणालीहरूलाई इन्टिग्रेट गर्ने कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ। समारोहमा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनलगायतको उपस्थिति रहेको थियो।

बागमती प्रदेशको यो पहलले डिजिटल गभर्नेन्सको दिशामा देशभरिका प्रदेश सरकारहरूका लागि प्रेरणादायी मिसाल पेश गरेको छ।







