हेटौंडा/मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका तीन वडाका बासिन्दालाई अब चितवन हुँदै हेटौंडा वा गाउँपालिका कार्यालय जानुपर्ने बाध्यता हटेको छ।
लोथर–हाङलाङ–हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो निर्माण भएपछि स्थानीयवासीको बहुप्रतीक्षित सपना पुरा भएको छ।

यस सडकले राक्सिराङ गाउँपालिकाको वडा नं. ६, ७ र ८ का साथै मनहरी–६ का बासिन्दालाई पनि सहज आवागमनको सुविधा पुर्याएको छ। सडक निर्माणपछि अहिले साना सवारी साधन चल्न थालेका छन्।
२०७४ को निर्वाचनताका स्थानीयसँग गरेको प्रतिबद्धता अनुसार प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले व्यक्तिगत पहलमा करिब सात किलोमिटर सडक ट्रयाक चार महिनामा निर्माण गराएका थिए। मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याएर सडकको स्तरीकरण गरेपछि बाटो अब सञ्चालनमा आएको हो।

शनिबार आयोजित उद्घाटन कार्यक्रममा बानियाँले आफ्नै कार्यकालमै सिदाम खोलामा मोटरेबल पुल निर्माण गरेर सडकलाई थप दिगो बनाउने योजना सार्वजनिक गरे। “विकट ठाउँका जनताले अब भीर च्यापेर होइन, गाडी चढेर कार्यालय आउन सक्नेछन्,” उनले उद्घोष गरे।
यसअघि राक्सिराङका सिलिङ्गे, सिलाधुनी, दामराङ, चरिमारा, टोड्केलगायतका बासिन्दाले चितवनको भण्डारा हुँदै झन्डै दुई घण्टा यात्रा गर्नुपर्थ्यो। अब लोथरबाटै छोटो दूरी पार गर्दै दुुइटार, खैराङ, बैकुण्ठजस्ता ठाउँमा सजिलै पुग्न सकिने भएको छ।

सडक उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, कांग्रेस प्रदेश सदस्य जानकी लामा, कांग्रेस मनहरी सभापति प्रकाश वर्तौला, वडा सदस्य कुलबहादुर नगरकोटी, कार्यवाहक वडाध्यक्ष विष्णु राईलगायतको उपस्थिति थियो।
त्यसै दिन मनहरी गाउँपालिकाले ज्यामिरे सिरानका ३५ घरधुरीलाई निशुल्क खानेपानी मिटर वितरण गरेको छ। साथै, अशक्त पशुपति थापालाई ह्वीलचियर सहयोगसमेत गरिएको छ। यी सामग्री बानियाँ र गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले हस्तान्तरण गरेका थिए।

यो सडकले विकट क्षेत्रलाई मुख्य सडक सञ्जालसँग जोड्दै सामाजिक र आर्थिक विकासको ढोका खोल्ने स्थानीयको विश्वास छ।







