हेटौडा/मदन भण्डारी फाउन्डेसनको चौथो साधारण सभा तथा अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा रघुनाथ खुलाललाई पुनः अध्यक्षमा चयन गरेको छ। खुलालकै सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा अझै सन्तोषजनक सुधार आउन नसकेको बताउनुभयो। उहाँले सामाजिक तथा आर्थिक रुपान्तरणको कार्यभार अझै पनि अधुरो रहेको उल्लेख गर्दै, जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचार ‘राजनीतिले जनताको जीवनमा परिवर्तन ल्याउनु पर्छ’ भन्ने सन्देश सबै राजनीतिक दलहरूले आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा भण्डारीले जबज (जनताको बहुदलीय जनवाद) लाई नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्तको रूपमा परिभाषित गर्दै, यसले बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्दै देशलाई समाजवादतर्फ डोरेको बताउनुभयो। उहाँका अनुसार २०४७ सालको संविधानमा मदन भण्डारीले प्रस्तुत गरेको २७ बुँदे आलोचनाको आधारमै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मार्ग प्रशस्त भएको थियो।

कार्यक्रममा सेल्टरदाताको रुपमा पञ्चायती निरंकुशता विरुद्धको संघर्षमा सक्रिय भूमिका खेलेको भन्दै शुभद्रा रेग्मीलाई ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२’ बाट सम्मान गरिएको छ।
फाउन्डेसनको नवगठित कार्यसमितिमा उपाध्यक्ष धर्म बस्नेत, सचिव कुमार के.सी., उपसचिव चन्द्रावती पनेरु अधिकारी, कोषाध्यक्ष गोकर्ण तिवारी चयन भएका छन्। सदस्यहरूमा मुकुन्द अधिकारी, आशा काजी श्रेष्ठ, कमल कुमार विश्वकर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताब सिं लामा, विवस अधिकारी, रवि रेग्मी, खेमराज जर्गा मगर, विश्वराज दाई, राधिका चौवनागरी, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरण लामीछाने र सम्झना पौडेल रहेका छन्।
कार्यक्रममा फाउन्डेसनका संस्थापक सदस्य डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, केदार न्यौपाने, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतको उपस्थिति रहेको थियो।







