कैलाश गाउँपालिका वडा नम्बर ३, कालिकाटारमा सञ्चालित व्यवसायिक चाउमिन बनाउने १४ दिने तालिम मंगलबार समापन गरिएको छ। समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सीप सिकेर व्यवसायमा उत्रिन सहभागीहरुलाई आग्रह गरेका छन्।
“सीप सिक्नुभयो, अब व्यवसाय सुरु गर्नुस्। वीऊपुजीँका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ,” अध्यक्ष मुक्तानले भने।

वडागत रूपमा आवश्यकतालाई पहिचान गरी तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। भौगोलिक विकटताका कारण बजारिकरणमा केही कठिनाइ भए पनि पालिकाभित्रै तथा मनहरी क्षेत्रसम्म उत्पादन पु¥याउने लक्ष्यसहित अघि बढ्न सहभागीलाई प्रेरित गरे।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले पालिकाले भौतिक विकाससँगै मानवीय तथा सामाजिक विकासमा पनि जोड दिइरहेको बताए। “हामी नागरिक लक्षित सीपमूलक तालिम सञ्चालन गर्दै आएका छौं। उद्यमशीलता र आत्मनिर्भरता तर्फ उन्मुख गराउँदैछौं,” उनले भने।
प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक सशक्तिकरण सम्भव हुने उल्लेख गरे। “स्थानीयस्तरमै उत्पादन र व्यवसाय गरियो भने आत्मनिर्भर बन्न सकिन्छ,” उनले जोड दिए।
तालिममा सहभागी संगीता प्रजाले सिकेको सीप जीवनयापनमा सहयोगी हुने भन्दै व्यवसायलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। बजारिकरणको चुनौती भने रहिरहने उनले बताइन्।
महिला एकता सार्थक समाज नेपालकी अध्यक्ष प्रमिला लामाको अध्यक्षता र पालिका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो। सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा आयोजित तालिममा १७ जना गृहिणी महिला तथा किशोरीहरूको सहभागिता रहेको थियो।
तालिमको पहिलो सातामा चाउमिन बनाउने अभ्यास गरियो भने दोस्रो सातामा उद्यमशीलता, प्याकेजिङ, लेवलिङ र बजारिकरणका विषयमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक रेशम थिङले जानकारी दिए।





