हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको बोलेरो गाडी अझैसम्म फेला परेको छैन।
घटनास्थलको अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट आएको विज्ञ टोली प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौं फर्किएको छ।
प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री एकलाल श्रेष्ठले बुधबार घटनास्थलमै पुगेर टोलीसँग जानकारी लिँदै, प्रारम्भिक अनुसन्धानलाई आधार मानेर जोखिम मूल्याङ्कनसहितको विस्तृत भूगर्भीय रिपोर्ट तयार गर्न आग्रह गरेका छन्। उनले हेटौंडा जस्तो तीव्र गतिमा विकास भइरहेको क्षेत्रको भविष्यलाई ध्यानमा राखी यस्ता अध्ययनलाई थप गहिराइमा लैजानुपर्नेमा जोड दिएका छन्।
भूगर्भविद नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलमा माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। टोलीले जमिनको ६ मिटर गहिराइसम्मको माटोको नमुना संकलन गरेको छ, जुन विभागको प्रयोगशालामा परीक्षण गरिनेछ।
टोलीका भूगर्भविद कृष्ण पाण्डेका अनुसार जमिनको माथिल्लो तह केही मिटरसम्म चिप्लो माटो रहेको र तल्लो तहमा बालुवा र पानी मिसिएको पाइएको छ। उक्त क्षेत्र वरपरको जमिन तरलिकृत अवस्थामा रहेकाले भासिने सम्भावना बढी रहेको बताइएको छ।
परीक्षणका क्रममा चुम्बकीय विधिबाट जमिनको करिब ३.४ मिटर गहिराइमा फलामजन्य धातु रहेको सङ्केत पाइएको छ। तर त्यो हराएको बोलेरो गाडी हो वा अन्य कुनै धातुजन्य वस्तु हो भन्ने विषयमा पुष्टि हुन बाँकी छ।
टोलीले संकलन गरेका नमुना र तथ्यको प्रयोगशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन सुरु गरिने विभागले जानकारी दिएको छ।
पाँच दिन अघि जमिन भासिएर हराएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी अझै फेला नपरेको अवस्थामा अनुसन्धान र जोखिम मूल्याङ्कन थप चासोको विषय बनेको छ।



