हेटौडा/बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको बागमती प्रदेश युवा सम्मेलन २०८२ मा युवाको नेतृत्व, नीति निर्माणमा सहभागिता तथा कृषि क्षेत्रको भविष्यबारे गम्भीर बहस प्रारम्भ भएको छ। सम्मेलनको उद्घाटनपछि भएको पहिलो प्यानल छलफल “युवा रोजगारी सिर्जना र कृषि क्षेत्रमा सहभागिता: सम्भावना र चुनौतीहरू” विषयमा केन्द्रित थियो।

छलफलमा बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठले कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नीति सुधार, लगानी प्रवर्द्धन र आधुनिक प्रविधिको उपयोग अनिवार्य रहेको बताउनुभयो। उहाँले अदुवा, अलैची, लसुनजस्ता नगदे बालीमा नेपालको उत्पादन प्रणालीले निर्यातको ठूलो सम्भावना बोकेको उल्लेख गर्नुभयो।
श्रेष्ठले ड्रिप सिँचाइ, ग्रीन हाउस, र प्रि-सिजन फार्मिङजस्ता प्रविधिको प्रयोगले उत्पादनमा गुणात्मक वृद्धि ल्याउने विश्वास व्यक्त गर्दै सरकारले कृषि ऋण, बीउ–मल अनुदान, किसान बीमा, तथा व्याज सहुलियत जस्ता योजनाबाट युवालाई कृषितर्फ आकर्षित गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो।

युवाहरूले भने कृषि बजार संरचना कमजोर रहेको, मूल्य निर्धारण र भण्डारण प्रणाली प्रभावकारी नभएको, प्रशोधन र वितरणमा समस्या रहेको कुरा उठाएका थिए। साथै, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, पूँजीको अभाव, प्रविधिमा पहुँच नहुनु, जमिनको खण्डीकरण र बजारको अस्थिरतालाई कृषि क्षेत्रका प्रमुख चुनौतीका रूपमा चिनाइएको थियो।
कृषिमन्त्री श्रेष्ठले कृषि पर्यटनलाई ग्रामीण विकासको नयाँ सम्भावना बताउँदै स्थानीय जीवनशैली, पर्व र परम्परालाई पर्यटनसँग जोडेर आम्दानीको वैकल्पिक स्रोत बनाउने धारणा राख्नुभयो। यसले ग्रामीण क्षेत्रमा युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने उहाँको विश्वास थियो।
छलफलमा सामुदायिक कृषि परियोजनाको विकास, आधुनिक प्रविधिको विस्तार, जैविक खेतीको प्रवर्द्धन, तथा कृषि शिक्षा र अनुसन्धानमा जोड दिनुपर्नेमा जोड दिइयो। खाद्य सुरक्षालाई सुनिश्चित गर्न किसान, उपभोक्ता, उद्योगी र राज्य सबैको साझा उत्तरदायित्व रहेको धारणा पनि प्रस्तुत गरियो।

सम्मेलनमा सहभागी युवाहरूले कृषिमा भविष्य देखिए पनि त्यसलाई मूर्त रूप दिन आवश्यक पूर्वाधार, सीप विकास, लगानी र नीति समर्थन अझै आवश्यक रहेको बताएका छन्।
कार्यक्रमका सभाध्यक्ष तथा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मेलनले प्रदेशको समृद्धिको आधार कृषि, नवप्रवर्तन र नेतृत्वको समिश्रणमा खोज्ने प्रयास थालेको बताउँदै सरकारको प्रतिबद्धता र युवाको ऊर्जा एउटै दिशामा लागेमा विकासको गति तीव्र हुने विश्वास व्यक्त गर्नुभयो।







