बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आइटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने भएको छ। मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत रोजगारी दिने तयारी गरेको हो।
यस उद्देश्यका लागि आज एक औपचारिक कार्यक्रममा मन्त्रालय र सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा श्रम मन्त्रालयका सचिव बिरेन्द्रदेव भारती र सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार सुरक्षण कोषले कक्षा १२ पास गरेका युवाहरुलाई आइटी सम्बन्धी सीप विकास तालिम प्रदान गर्नेछ। साथै, उनीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र आइटी क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको छ।
योजना अनुसार कोषले रोजगारीमुखी सीप विकास तालिम कर्जा सुरक्षणका लागि आवश्यक बैंक तथा वित्तीय संस्थाको छनोट गरी सम्झौता गर्नेछ। ती संस्थाहरूको विवरण सूचना प्रविधि प्रणालीमार्फत अद्यावधिक गरिनेछ।
त्यस्तै, सुरक्षण योगदानकर्ताले “रोजगारीमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष” नामक छुट्टै कोष स्थापना गर्नेछन्। उक्त कोषमा कर्जाको १० प्रतिशत रकम जम्मा गरिनेछ। यही कोषबाट त्रैमासिक सुरक्षण शुल्क संकलन गरिने र कर्जामा क्षति भएमा क्षतिपूर्ति भुक्तानी गरिने व्यवस्था गरिएको छ।

मन्त्री महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै देशमै रोजगारी सिर्जना गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीका लागि जाने क्रम न्यूनीकरण गरी देशमै अवसरको खोजी गर्नुपर्नेमा जोड दिनुभयो।







