हेटौडाअ/ कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक विद्यालयमा कार्यरत सूचना प्रविधि (आईटी) स्रोत शिक्षकहरूलाई लक्षित गरी सूचना प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको तालिम मंगलबार समापन गरिएको हो।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाशको भौगोलिक विकटताबीच पनि शिक्षामा क्रमिक सुधार आइरहेको बताए। उनले भने, “यहाँका नागरिकमा चेतनाको केही अभाव देखिन्छ, त्यसैले शिक्षकहरूले चेतना फैलाउने कामलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रमा सुधार ल्याउन जरुरी छ।”

अध्यक्ष मुक्तानले विद्यालयहरूमा रहेका आईटी उपकरणको दुरुपयोग नहोस् भन्ने चेतावनी दिँदै उपलब्ध साधनको भरपुर प्रयोग गर्न आग्रह गरे। साथै, आवश्यक सीप नपुगेमा थप तालिम लिन पनि शिक्षकहरूलाई प्रेरित गरे। केही विद्यालयमा उपकरण अभाव देखिएको जनाउँदै उनले त्यसका लागि गाउँपालिकाबाट आवश्यक समन्वय गरिने बताए।
विकट भौगोलिक अवस्थाले विद्यालय र स्वास्थ्य संस्थामा कम्प्युटर तथा इन्टरनेट जडानमा कठिनाइ भएको उल्लेख गर्दै विद्युत आपूर्तिमा पनि समस्या रहेको जानकारी दिए। “हावाहुरीको मौसममा विद्युत अवरुद्ध हुने भएकाले प्रविधि प्रयोगमा थप समस्या उत्पन्न हुने गरेको छ,” मुक्तानले भने।
वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानले शिक्षा क्षेत्रमा गाउँपालिकाले निरन्तर लगानी गर्दै आइरहेको बताए। “शिक्षामा पछाडि परेका छौं, अब शिक्षकहरूले आफ्ना क्षमता अभिवृद्धि गरी परिवर्तन ल्याउनुपर्छ,” उनले भने।
४३ जना विद्यालय प्रमुख, स्रोत शिक्षक तथा आईटी फोकल शिक्षक सहभागी रहेको उक्त तालिममा होमबहादुर नेपाली र विवसजङ्ग थापाले सहजीकरण गरेका थिए। विद्यालय प्रशासन सम्बन्धी प्रशिक्षण भने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख समीर जोशीले दिएका थिए।
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्तान, विशेष अतिथि वडा नं. ९ का वडाध्यक्ष घलान रहेका थिए। कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जीवनज्योति प्राविकी प्रमुख अध्यापक सीता मगर र भवानी माविका प्रमुख अध्यापक बालचन्द्र मल्लले तालिमका अनुभव, प्राप्त सीप र आगामी दिनमा हुनुपर्ने सुधारका विषयमा धारणा राखेका थिए।







