महालेखा परीक्षकको कार्यालयले ३१ वैशाखमा सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहको बजेट खर्च र वित्तीय अनुशासनबारे महत्वपूर्ण तथ्य प्रस्तुत गरेको छ। प्रतिवेदनअनुसार स्थानीय तहमा वित्तीय अनुशासन कमजोर बन्दै गएको देखिएको छ भने बेरुजु रकम पनि वर्षेनी बढ्दो क्रममा छ।
मकवानपुर जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ। महालेखाको प्रतिवेदनअनुसार बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ। यसपछि राक्सिराङ गाउँपालिकाको ०.७५ प्रतिशत बेरुजु देखिएको छ।
त्यस्तै सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा देखिएको छ, जसको बेरुजु प्रतिशत २.६० रहेको छ। हेटौंडा उपमहानगरपालिकाको बेरुजु प्रतिशत २.३३ रहेको प्रतिवेदनमा उल्लेख छ।
अन्य स्थानीय तहको बेरुजु विवरण यसप्रकार छ:
इन्द्रसरोवर गाउँपालिका: १.४२ प्रतिशत
कैलाश गाउँपालिका: १.४५ प्रतिशत
भीमफेदी गाउँपालिका: १.०४ प्रतिशत
मकवानपुरगढी गाउँपालिका: १.०९ प्रतिशत
मनहरी गाउँपालिका: १.८७ प्रतिशत
महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा बजेटको सदुपयोग र पारदर्शितासम्बन्धी सुधार आवश्यक रहेको औँल्याएको छ।