प्रदेश युवा परिषद् बागमतीको आयोजनामा हेटौंडामा दुई दिने आवासीय महिला आत्मरक्षा प्रशिक्षक पुनर्ताजगी तालिम सुरु भएको छ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई प्रमुख अतिथि रहनुभएको थियो भने परिषद् सदस्य सुरज थापा मगर ‘किरण’को अध्यक्षता रहेको थियो।
तालिममा हिंसाका प्रकारहरू, आत्मरक्षाको महत्व, आत्म–जागरण तथा हिंसा न्यूनीकरणमा कानुनी प्रावधानहरूबारे सैद्धान्तिक र प्रयोगात्मक जानकारी प्रदान गरिएको थियो। बागमती प्रदेशका १३ जिल्लाका १३ विद्यालयबाट २६ जना महिला शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा किशोरी, बालिका र महिलाहरू घर, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित रहेको तथ्यांकका आधारमा आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो।
नेपाल सेल्फ डिफेन्स एसोसिएसनका वरिष्ठ प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक विष्णु श्रेष्ठको आतिथ्यमा तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौलागाईले परिषद्ले चालु आर्थिक वर्षमा प्रदेशभरका १३ जिल्लामा यस्तो तालिम सञ्चालन गरी विद्यालय र स्थानीय तहमा २० हजारभन्दा बढीलाई आत्मरक्षा तालिम दिन सक्ने दक्ष प्रशिक्षक तयार पारिएको जानकारी दिनुभयो।

परिषद् कार्यालय प्रमुख रमेश धिमिरे आतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमबारे जानकारी परिषद्का कर्मचारी सुनिल दुलालले दिएका छन् ।







