हेटौंडा — बालजागृति इ. सेकेन्डरी स्कूलमा शुक्रबार विद्यालयस्तरीय नेतृत्व चयनका लागि सम्पन्न भएको निर्वाचनमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विद्यार्थीहरूले विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा चारवटा हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न मतदान गरेका हुन्।

प्रधानाध्यापक विनोद सुवेदीका अनुसार विद्यालयले सामाजिक शिक्षाको पाठ्यक्रमअनुसार विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया र नागरिक जिम्मेवारीबारे व्यवहारिक ज्ञान दिन हरेक वर्ष निर्वाचन कार्यक्रम आयोजना गर्दै आएको छ। “विद्यार्थीहरूले उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान र मतगणनाजस्ता चरणमा प्रत्यक्ष संलग्न भएर अनुभव लिने अवसर पाउँछन्,” उनले बताए।

मतदान प्रक्रिया बिहान ७:१५ बजे सुरु भई ११:०० बजे शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्न भएको थियो। विद्यालय प्रशासनका अनुसार, यस अभ्यासमार्फत विद्यार्थीहरूमा उत्तरदायित्व, नेतृत्व क्षमता र लोकतान्त्रिक सोच विकास हुने विश्वास गरिएको सुवेदीले बताएका छन् ।
निर्वाचन अधिकारी उमेश अर्यालका अनुसार विद्यार्थीहरूलाई उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावी–विरोध, उम्मेदवारी फिर्ता, प्रचारप्रसार, मौन अवधि लगायत सम्पूर्ण प्रक्रिया सिकाइएको थियो।

निर्वाचनमा सहभागी प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्ना योजना प्रस्तुत गर्दै विद्यालयमा रहेका मतदाताहरूसँग मत मागेका थिए। विद्यालय परिसरभित्र चारवटा मतदान केन्द्र स्थापना गरिएका थिए।
हाल मतगणना प्रक्रिया जारी रहेको र परिणाम छिट्टै सार्वजनिक गरिनेछ निर्वाचन अधिकृत अर्यालले जानकारी दिए।









