गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउन बागमती प्रदेश सरकारद्वारा प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ। समितिको संयोजकत्व मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गर्नुहुनेछ भने समितिले जेठ १३ देखि १५ गतेसम्म प्रदेश राजधानी हेटौंडामा विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको समितिको निर्णयअनुसार बागमती खेलकुद परिषदको आयोजनामा खेलकुद प्रतियोगिता तथा सामाजिक विकास मन्त्रालयको संयोजनमा निबन्ध प्रतियोगिता, चित्रकला प्रदर्शनीजस्ता कार्यक्रमहरू गरिनेछ।
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार, १५ गते बिहान प्रभातफेरी, प्रवचनलगायतका कार्यक्रम हेटौंडामा आयोजना गरिनेछ।
समितिमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, सुरक्षा निकाय प्रमुखहरू, हेटौंडा उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू सदस्य रहेका छन्।
त्यस्तै, कार्यक्रमको एक विशेष भागको रूपमा गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीबाट दुई जनाको ज्यान जोगाउने कार्यमा साहसिक भूमिका खेलेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय पनि गरेको छ। यो निर्णय प्रदेश सरकारले असोजमै गरेको भए पनि अब औपचारिक रूपमा सम्मान गरिने प्रवक्ता लामिछानेले जानकारी दिए।







