कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ मा बसोबास गर्ने ९९ घरधुरीलाई सुधारिएको धुँवारहित चुलो वितरण गरिएको छ। सोमबार आयोजित विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुलो हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय सांग्रिला डेभलपमेन्ट एशोसिएसनको अगुवाइमा ती वडामा घरधुरी सर्वेक्षण गरी छनौटमा परेका परिवारहरूलाई चुलो वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरणमैत्री तथा स्वास्थ्यपोषक हुने बताउँदै, “धुँवाका कारण बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई घटाउन यी चुलो उपयोगी हुनेछन्,” भने। उनले चुलो घरमा राखेर मात्र नभई नियमित प्रयोग गर्न पनि स्थानीयलाई आग्रह गरे।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले सांग्रिलाको योगदानको सराहना गर्दै, “स्वास्थ्य र शिक्षा क्षेत्रमा यस्तो कार्य गर्नु आफूहरुको भावनासँग मेल खाने भएकाले गाउँपालिकाले निरन्तर साथ दिनेछ,” भने। उनले चुलोको प्रभावकारी प्रयोग गर्न सबैलाई अनुरोध समेत गरे।
सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष देवलाल बल, वडा नं. ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकी प्रमुख आशा कुमारी गुरुङ लगायतको उपस्थिति रहेको थियो।
संयोजक राउतले स्वास्थ्य परियोजनाअन्तर्गत चुलो वितरण गरिएको जानकारी दिँदै, “घरधुरी सर्वेपछि तयार गरिएको प्रतिवेदनको आधारमा प्राथमिकतामा परेका ९९ घरलाई चुलो वितरण गरिएको हो,” भने। उनले लाभग्राहीहरूलाई चुलो सही तरिकाले प्रयोग गर्न आग्रह गरे।
उनका अनुसार पाँच जना प्राविधिकलाई आवश्यक तालिम दिइएको छ र उनीहरुमार्फत चुलो जडानको कामसमेत गरिएको छ। चुलो प्रयोगबाट दाउराको खपत घट्नुका साथै धुवाँजन्य स्वास्थ्य समस्याबाट राहत मिल्ने अपेक्षा गरिएको छ।
सांग्रिला डेभलपमेन्ट एशोसिएसनले गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य र शिक्षाका विभिन्न क्षेत्रमा निरन्तर काम गरिरहेको छ।







