त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ स्थित विद्युत प्राधिकरण नजिकै सोमबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस साँझ करिब ७ बजेतिर ब्रेक फेल भएर सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा टोली परिचालन गरी उद्धार कार्य थालिएको थियो।
दुर्घटनामा परी हाल वतन नखुलेका ३५–४० वर्ष उमेरका कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा साँझ ७:२५ बजे मृत्यु भएको हो। दुबै शव सोही स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ३५/३६ वर्षका रघुनन्दन यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेकाले काठमाडौँ ट्रमा सेन्टर रेफर गरिएको छ।
त्यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भई पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्।
बस चालक थाहा नगरपालिका–५ बसन्तका २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







