थाहा नगरपालिका–३ मा सोमबार साँझ भएको एक भीषण बस दुर्घटनामा परी दुई शिक्षकसहित तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनापछि थाहा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूमा मंगलबार एक दिनको शोक बिदा दिइएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का ४५ वर्षीय लोकेंद्रकुमार ठाकुर, सिराहाको औराही नगरपालिका–१ का ३३ वर्षीय रघुनन्दन यादव, र थाहा नगरपालिका–९ कपुगाउँका ४० वर्षीय लेखापढी व्यवसायी कृष्ण बलामी रहेका छन्।
ठाकुर र यादव थाहा नगरपालिका–१ ओखरगाउँस्थित झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक थिए। ठाकुर नेपाली विषय र यादव विज्ञान विषय पढाउँथे। विद्यालयका अनुसार उनीहरू ‘इभिनिङ वाक’ मा निस्किएका बेला दुर्घटनामा परेका थिए।
दुर्घटनामा झम्केश्वरी माविका गणित शिक्षक छेवाङ दोर्जे लामा (३२, जितपुर सिमरा–१७) र राम गुलाम चौधरी (३०, बारा कोल्वी नगरपालिका–१) घाइते भएका छन्। उनीहरूको उपचार पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।
त्यस्तै, मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका कृष्ण बलामीको घटनास्थलमै मृत्यु भएको थियो भने मालपोत कार्यालय शिखरकोटका कर्मचारी कमलेश कुमार शाह गम्भीर घाइते भएका छन्। उनको उपचार काठमाडौंस्थित ट्रमा सेन्टरमा जारी छ।
दुर्घटनाबारे प्रहरीका अनुसार बा ३ ख ५९९० नम्बरको बस शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गर्दा ब्रेक फेल भई सडक छेउमा हिँडिरहेका शिक्षक र अन्यलाई ठक्कर दिँदै थाहा नगरपालिका–३ स्थित नेपाल विद्युत प्राधिकरण कार्यालय नजिकैको घरमा पसेको थियो। बस थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीले चलाएका थिए। हाल उनी प्रहरी नियन्त्रणमा छन्। बसमा यात्रु भने थिएनन्।
झम्केश्वरी माविमा हाल १८ जना शिक्षक कार्यरत छन् र २५५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठका अनुसार दुःखद दुर्घटनाले विद्यालयलाई अपूरणीय क्षति पुगेको छ। “मृतक दुवै शिक्षक अब्बल र प्रेरणादायी शिक्षक थिए,” उनले भने।
थाहा नगरपालिका अन्तर्गतका सबै विद्यालय मंगलबार शोक बिदा दिइएर बन्द गरिएका छन्।








