हेटौंडा/बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबार हेटौंडामा बसेको बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।
बैठकले ‘नीजि वनको साल प्रजातिको रुख कटान तथा ओसारप्रसार अनुगमन सम्बन्धि कार्यविधि, २०८२’ पनि स्वीकृत गरेको छ। उक्त कार्यविधिमा प्रदेश सरकारले अनुगमन गर्न सक्ने अधिकार सुनिश्चित गरिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो।
त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित ‘बागमती प्रदेश स्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२’ पनि बैठकले स्वीकृत गरेको छ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट पेस भएको प्रस्तावअनुसार समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा थप दुई सदस्य नियुक्त गर्ने निर्णय गरिएको छ। पाँच सदस्यीय समितिमा बाँकी रहेका दुई पदमा नियुक्तिका लागि निर्णय गरिएको हो।
यस्तै, बैठकले धादिङको थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई राजनीतिक सहमतिका आधारमा समितिमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।







