बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा बालश्रम न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंमा एक महत्वपूर्ण बाल परामर्श भेला सम्पन्न भएको छ। कार्यक्रममा श्रमिक बालबालिकाहरूले आफ्ना पीडा र अनुभवहरू प्रधानमन्त्रीलाई बुझाइने ध्यानाकर्षणपत्रमार्फत प्रस्तुत गरेका छन्।
उक्त भेलामा सहभागी बालबालिकाहरूले घरेलु काम, गलैचा उद्योग, होटल-रेस्टुरेन्ट, यातायात, डान्सबार र मनोरञ्जन क्षेत्रजस्ता जोखिमपूर्ण क्षेत्रमा काम गर्न बाध्य हुँदा भोगेका दर्दनाक अनुभवहरू साझा गरे। बिहान ३ बजे उठेर काम गर्नुपर्ने, दिनभर श्रम गर्दा पनि पारिश्रमिक नपाउने, हिंसा सहनुपर्ने, विद्यालय जानबाट वञ्चित हुनुपर्ने तथा भोकभोकै सुत्नुपर्ने अवस्थाहरूको स्पष्ट चित्रण उनीहरूले गरे।
सिबिस, राष्ट्रिय बाल संरक्षण सञ्जाल, स्वतन्त्रता अभियान, बाल कल्याण समाज मकवानपुर, विश्वास नेपाल, नयाँ पाइला, साथसाथ, चाइल्ड नेपाल, एसपीसीएसएन, ईस्थर बेन्जामिन स्मृति संस्था, चाइल्ड नेटवर्क, युवालय, लुनिभा बाल सरोकार केन्द्र, भ्वाइस अफ चिल्ड्रेन, एटविन, कन्सोर्टियम नेपाल, शक्ति समूह, एनसिएफएलजी फोरम, रक्षा नेपाल, जेसिवाइसिएन, सिजोप, गुडवेभ, सिडिएस लगायत ३० भन्दा बढी संघसंस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
भेलाका क्रममा श्रमिक बालबालिकाहरूले आफूहरूका अनुभव र पीडासँगै समस्याको दीर्घकालीन समाधानका व्यावहारिक सुझावहरू समेटिएको ध्यानाकर्षणपत्र तयार गरेका छन्। उक्त पत्रमा सबै बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा सुनिश्चित गर्नुपर्ने, बालमैत्री वातावरणको निर्माण, पारिवारिक आर्थिक अवस्थाको सुदृढीकरणका लागि रोजगारी र सहुलियतपूर्ण कार्यक्रमहरू ल्याउनुपर्ने, कार्यस्थलमा हुने हिंसा, दुर्व्यवहार र शोषणविरुद्ध कडा कार्यवाही गर्नुपर्ने माग गरिएको छ। साथै श्रमबाट मुक्त बालबालिकालाई पुनः शिक्षामा फर्काउने, मानसिक स्वास्थ्य सेवा तथा परामर्श सेवाको सुनिश्चिततासमेत माग गरिएको छ।
सिबिसका बाल सल्लाहकार कृष्ण शाहद्वारा उद्घोषित कार्यक्रममा सिबिसका एड्भोकेसी एडभाइजर युबराज घिमिरे, राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष ज्ञानभक्त महर्जन, सिबिसकै मनिता धरेल, उमंग मैनाली, प्रमोद आचार्य, नयाँ पाइलाका विष्णु पनेरू, चाइल्ड नेपालका तोयानाथ तिवारी, सानका श्रद्धा डंगोल, एसपीसीएसएनकी दिक्षा खनाल, साथसाथकी सरस्वती थापा, मिडियाका गोबिन्द खड्का लगायतले बालश्रम अन्त्यका लागि राज्य र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको र त्यसका लागि कानुन कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाका अनुसार, प्रधानमन्त्रीलाई बुझाइने ध्यानाकर्षणपत्र तयार पार्न सिबिसका कार्यक्रम संयोजक उमंग मैनालीले सहजीकरण गरेका थिए भने श्रमिक बालबालिकालाई आफ्नो मनका कुरा लेख्न सिबिसकी मनोपरामर्शदाता मनिता धरेलले सहयोग गरेकी थिइन्। खतिवडाले श्रमिक बालबालिकाको आवाज सुनेर त्यसैअनुसारको कार्ययोजना बनाइयो भने सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे।
यसै सन्दर्भमा, बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा नागरिक संस्थाहरूले जुन १ देखि १२ सम्म विभिन्न सचेतनामूलक कार्यक्रमहरू—बालमैत्री पोस्टर प्रदर्शनी, जनचेतनामूलक ¥याली, बाल अधिकारकर्मीहरूबीच वाककला प्रतियोगिता तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जानकारी आयोजकहरूले दिएका छन्।







