हेटौंडा/ विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा हेटौंडा उपमहानगरपालिका अन्तर्गत टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘प्रकृति संवाद यात्रा’ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। संवाद यात्रामा हेटौंडा क्षेत्रका विभिन्न विद्यालय तथा बाल क्लबहरूबाट ७५ जना बालबालिकाको सक्रिय सहभागिता रहेको थियो।
बालबालिकाहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणमा अवस्थित जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए। साथै, वातावरण संरक्षणका विभिन्न विषयमा संवादात्मक शिक्षा प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण वन विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले गरेका थिए। उनीहरूले वन संरक्षण, जैविक विविधता, जलवायु परिवर्तनजस्ता विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।
प्रमुख अतिथि फुर्वा लामाले वातावरण संरक्षणलाई स्थानीय तहको प्राथमिकता बनाउँदै आएको उल्लेख गर्दै भन्नुभयो, “यस्ता बालमुखी कार्यक्रमहरूले व्यवहारिक ज्ञान दिनुका साथै दीर्घकालीन परिवर्तनको जग हाल्छन्।”
कार्यक्रम अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बालबालिकाको उत्साहजनक सहभागिता उल्लेखनीय रहेको भन्दै भन्नुभयो, “स्वच्छ, हरित र दिगो वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक छ। यस्ता कार्यक्रमले बालबालिकामा चेतना र जिम्मेवारीको भावना विकास गर्न मद्दत गर्छ।”
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, महासचिव शिवहरी दाहाल, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, सदस्यहरू पुन्यवती घिमिरे, सुरेश लामिछाने, उर्मिला राना मगर, कमला पौडेल, लिना बरूवाल, माया पौडेल, हरीगोपाल सापकोटा लगायत सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बाँनिया र एनआईसिय हेटौंडाका निश्चल भट्टको समेत उपस्थिति रहेको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि बिहान ७ बजे हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी अध्यक्ष अधिकारीले दिनुभयो। उक्त कार्यक्रममा खाली प्लास्टिकका बोतल साटेर फलफूलका बिरुवा वितरण गरिनेछ। अभियानको उद्देश्य वातावरण संरक्षणसँगै प्लास्टिक व्यवस्थापनबारे जनचेतना फैलाउने रहेको छ।

सहभागी बालबालिकाहरूले कार्यक्रमले आफूहरूमा वातावरणप्रतिको समझ, आत्मीयता र उत्तरदायित्वबोध विकास गरेको अनुभव साझेदारी गरेका छन्।








