हेटौंडा/बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत निजी क्षेत्रसँग सहकार्य गर्ने स्पष्ट सन्देश दिएको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघले सरकारसँग औपचारिक सहकार्यको प्रस्ताव अघि सारेको छ।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसँगको भेटमा संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले उद्यमशीलता प्रवर्द्धन, उद्योगमैत्री वातावरण निर्माण र दक्ष जनशक्ति उत्पादनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै सहकार्यको प्रस्ताव गर्नुभएको हो।
अध्यक्ष रानाभाटले सरकारलाई लगानीमैत्री बजेट निर्माणका लागि आग्रह गर्दै, निजी क्षेत्रको सक्रिय सहभागिता प्रदेशको समृद्धिमा महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।
संघले हेटौंडास्थित पल्पसा सदन परिसरमा विशिष्ट अतिथि सत्कार गृह निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह समेत गरेको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो।
मुख्यमन्त्री लामा तामाङले बागमती प्रदेशको दिगो समृद्धिका लागि निजी क्षेत्र अपरिहार्य साझेदार भएको उल्लेख गर्दै, सरकार निजी क्षेत्रका सकारात्मक सुझावलाई समेटेर आगामी बजेट प्रस्तुत गर्ने तयारीमा रहेको बताउनुभयो। उहाँले आगामी बजेटले उद्योगी–व्यवसायीलाई प्रोत्साहित गर्ने र रोजगारी सृजनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
भेटमा संघका एशोसियट उपाध्यक्ष उज्वल चौलागाई र महासचिव प्रतिमा श्रेष्ठ पनि सहभागीता रहेको थियो।







