कैलाश गाउँपालिका–८ भार्तामा सञ्चालित एक महिने सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ। बैशाख १६ गतेदेखि सञ्चालनमा आएको तालिमको समापन कार्यक्रम वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले गतवर्ष जस्तै यसवर्ष पनि सिलाई तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै भने, “कपडा सिलाउन अब मनहरी जानुपर्ने छैन, आफ्नै गाउँमै बसेर सीपको सदुपयोग गर्नुपर्छ।”
“सीपसँगै मेशिन पनि उपलब्ध गराइएको छ। यसलाई प्रयोगमा ल्याएर निरन्तर अभ्यास गर्नुहोस्,” अध्यक्ष मुक्तानले जोड दिए। उनले ग्रामीण महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पनि सीपलाई आयआर्जनसँग जोडेर प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे। “जानेको सीप घरमै बसेर प्रयोग गर्नुहोस्, मेशिन खिया नलाग्ने गरी निरन्तर प्रयोग गरिरहनुहोस्,” उपाध्यक्ष मल्लले भने।
तालिम पश्चात सहभागीहरूलाई तीन दिने उद्यमशीलता तालिम समेत प्रदान गरिएको थियो। तालिम गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रद्वारा सञ्चालन गरिएको हो।
समापन कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा नं. ८ का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो।
तालिममा कुल १४ जना महिलाले सहभागिता जनाएका थिए।







