राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन्। संघको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित विशेष समारोहमा नवनिर्वाचित अध्यक्षसहित नयाँ कार्यसमितिका पदाधिकारीहरूले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

उक्त कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल, पूर्व इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका पूर्व अध्यक्ष निरुदेवी पाल, हालका इन्चार्ज राजिव पहारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
पदभार ग्रहण समारोहमा बोल्दै अध्यक्ष थेबेले आफ्नो दोस्रो कार्यकाललाई युवाको सशक्तिकरण, संगठनको विस्तार, रोजगारी सिर्जना तथा वैचारिक प्रशिक्षणमा केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “युवालाई उत्पादनमूलक गतिविधिमा संलग्न गराउँदै स्वदेशमै अवसर सिर्जना गर्नु हाम्रो मुख्य लक्ष्य हुनेछ।”
सोही अवसरमा पूर्व अध्यक्षहरू महेश बस्नेत र निरुदेवी पालले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठनलाई अझ सबल, सक्रिय र प्रभावकारी बनाउने दिशामा अघि बढ्न सुझाव दिएका थिए।
नवगठित कार्यसमितिमा विभिन्न भूगोल, पेसा र पृष्ठभूमिका युवाहरूलाई समावेश गरिएको संघले जनाएको छ। संघले आगामी दिनमा राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित विविध कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ।







