हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको आयोजनामा टोल विकास संस्था नगर समन्वय समितिद्वारा विश्व वातावरण दिवस–२०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “प्लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगरवासी, विद्यालय, सामाजिक संघसंस्था, स्वयंसेवक, जनप्रतिनिधि तथा विभिन्न तहका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सप्ताहव्यापी कार्यक्रमको समापन समारोह टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्य र नगर प्रमुख मिना कुमारी लामाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा मन्त्री सिलवालले प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अपनाएका नीतिहरूको कार्यान्वयनमा सशक्त रुपमा लागेको जानकारी दिँदै यस्ता अभियानले जनस्तरमा चेतना अभिवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे। नगर प्रमुख लामाले वातावरण संरक्षणमा सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने अभियानमा नगरपालिकाको पूर्ण प्रतिबद्धता व्यक्त गरिन्।
सभाध्यक्ष अधिकारीले टोल विकास संस्था, महिला समूह, युवा, विद्यालय, सामाजिक संस्था लगायतको सहकार्यले २०८२ सालभित्र हेटौंडालाई प्लाष्टिकमुक्त बनाउने लक्ष्य हासिल गर्न सकिने बताउँदै निरन्तर सहभागिताको आह्वान गरे।
समारोहमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नगर उपप्रमुख राजेश बानिया, विभिन्न वडाध्यक्षहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चित्रकला, भिडियो, पुनःप्रयोग सामग्री प्रतिस्पर्धा, र्याली, सांस्कृतिक प्रस्तुति जस्ता विविध गतिविधि सञ्चालन गरिएको थियो। उल्लेखनीय सहभागी संस्थाहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरियो।
कार्यक्रमका संयोजकहरू पुन्यवति घिमिरे, चन्द्रावती पनेरु, सति न्यौपाने, शान्ति श्रेष्ठ, यदुवंश खतिवडा लगायत अन्य सहयोगीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
यो अभियानले हेटौंडामा समुदाय, विद्यालय, युवावर्ग र संस्थाहरूबीच समन्वय र सहभागिता बढाउँदै वातावरण संरक्षणको दिशामा सार्थक पाइला चालेको छ। सहभागिहरूले हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने अभियानमा यस्ता कार्यक्रमहरू प्रेरणादायक हुने विश्वास व्यक्त गरेका छन्।








