मकवानपुरको कैलाश गाउँपालिका–४, ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर तथा ओटिसी (Outpatient Therapeutic Care) सेन्टर उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त सेन्टरको उद्घाटन गरेका हुन्।
कार्यक्रममा अध्यक्ष मुक्तानले वर्थिङ्ग सेन्टर सञ्चालनको उद्देश्य घरमै सुत्केरी गराउने प्रचलन अन्त्य गर्नु रहेको स्पष्ट पार्दै मातृ तथा शिशु स्वास्थ्य सुरक्षाका लागि वर्थिङ्ग सेन्टर प्रभावकारी हुने बताए। उनले आगामी वर्षदेखि कैलाश गाउँपालिकाका सबै वडामा वर्थिङ्ग सेन्टर सञ्चालन गरिने जानकारी गराए।
अध्यक्ष मुक्तानले गर्भवती आमाले स्वास्थ्य संस्थाबाट कम्तीमा आठ पटक गर्भजाँच गराउनु जरुरी रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा जोखिम न्यूनीकरण हुने बताए। “भौगोलिक विकटताले गर्दा घरमै सुत्केरी गराउने प्रवृत्ति बढ्दै गएकाले यसको अन्त्यका लागि स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहनेछ”, उनले भने।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले वर्थिङ्ग सेन्टर स्थापना मात्र पर्याप्त नहुने उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरूले केन्द्रबाट सेवा लिनुपर्नेमा जोड दिए। उनले घरमा सुत्केरी गराउनु भन्दा स्वास्थ्य संस्थाबाट सेवा लिनु सुरक्षित र प्रभावकारी हुने बताए।
कार्यक्रममा वडाध्यक्ष तीलकबहादुर मुक्तानको अध्यक्षतामा वर्थिङ्ग सेन्टर उद्घाटन गरिएको हो। वडाध्यक्ष मुक्तानले अब डोकोमा घण्टौं हिँडेर अस्पताल जानुपर्ने दिन सकिएको भन्दै गाउँमै सुरक्षित सुत्केरी सेवा पाउन थालेको बताए। उनले २४ सै घण्टा सेवा उपलब्ध गराउने स्वास्थ्यकर्मीहरुको उपस्थितिमा गर्भवती महिलालाई सेवा लिन आग्रह गरे।
यस वर्थिङ्ग सेन्टरसँगै गम्भीर कुपोषण भएका बालबालिकाको उपचारका लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवका अनुसार स्थान अभावका कारण निर्माणमा ढिलाइ भएको थियो। स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि करिब १३ लाखको लागतमा सेन्टर निर्माण सम्पन्न भएको हो। गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे लगायतका क्षेत्रका बासिन्दाले यहाँबाट सेवा लिन सक्नेछन्।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा ४ का कार्यपालिका सदस्य सम्झना गोले, नेमराज चेपाङ, रवीन्द्र सिन्तान, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, प्रेम सेवा समाजका लेखा प्रमुख विष्णु गुरुङ, स्वास्थ्य सहजकर्ता मार्था फ्युवा, भार्ता प्रहरी चौकीका प्रमुख प्रकाश घिमिरे, वडा सचिव अशोक शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा जग्गादाता कर्णबहादुर थिङलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।







