कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले रोगव्याधी र प्राकृतिक विपद्का सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्।
मंगलबार सम्पन्न ‘स्थानीय द्रुत प्रतिकार्य समिति तथा टोली सम्बन्धी अन्तरक्रिया र विपद् कन्टिजेन्सी योजना निर्माण’ कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विपद् पूर्वसूचना नदिई आउने भएकाले सधैं सतर्क र तयार रहनुपर्ने बताए। उनले भने, “विपद् बाजा बजाएर आउँदैन, त्यसैले हामी तयारी अवस्थामै बस्नुपर्छ।”
उनले मानव स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोग प्रकोपका साथै पशुपन्छीमा लाग्ने रोगव्याधी र बाढीपहिरो लगायतका विपद्हरूको जोखिमलाई मध्यनजर गर्दै आवश्यक योजना तयार गरिएको जानकारी दिए। “आगामी नीति तथा कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम समेटिनेछ,” अध्यक्ष मुक्तानले बताए।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले पनि गाउँपालिका विपद्का लागि तयारी अवस्थामा रहेको दोहोर्याए। “हामी पूर्वतयारीका साथ छौं, आवश्यक सामग्रीहरुको अभाव भए खरिद गरी तयारी अवस्थामा रहनेछौं,” उनले भने।
डब्लुएचओकी प्रतिनिधि डा. सविता पौडेलले अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरिन्। उनले विश्वभर भएका महामारी, नेपालमा देखिएका ५२ प्रकारका संक्रामक रोग, सार्वजनिक स्वास्थ्य संकटका संकेत, कैलाशमा जंगली च्याउको प्रयोगबाट हुन सक्ने असर, रोग निगरानी र महामारी व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत जानकारी दिइन्।
त्यस्तै, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले द्रुत प्रतिकार्य समिति (RRT) र द्रुत प्रतिकार्य टोली (RRC) का संरचना, जिम्मेवारी र अधिकारबारे प्रकाश पारे।
कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष बालकुमार मल्ल, वडा नं. १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, डब्लुएचओकी डा. सविता पौडेल र जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे अतिथि रूपमा सहभागी थिए।
कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट आएका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।







