हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट करिब ३३ करोड ६० लाख रुपैयाँ खर्च गरेर पाँचवटा पक्की पुल निर्माण सम्पन्न गरेको छ। लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माण गरिएको तीमध्ये तीनवटा पुल अघिल्लो वर्ष नै सम्पन्न गरिएका हुन् भने बाँकी दुईवटा पुलको उद्घाटन कार्यक्रम भोलि जेठ ३१ गते तय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार भोलि मनहरी–३ मा पर्ने ठाडो खोला र हाँडी खोला पुलको उद्घाटन बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले गर्नेछन्। ठाडो खोला पुल ८ करोड ६७ लाख ५ हजार रुपैयाँ लागतमा हिराचन बानियाँ जेभीले निर्माण गरेको हो भने हाँडी खोला पुल ५ करोड ३५ लाख ५१ हजार रुपैयाँ लागतमा भैरव नारायणम् जेभीले बनाएको हो।
गत वर्ष नै उद्घाटन गरिएका अन्य तीन पुलमा मनहरी–१ र २ जोड्ने ३ स्पानको च्यापल खोला पुल (६ करोड २८ लाख ९८ हजार), मनहरी–३ र ४ जोड्ने २ स्पानको ट्वाङ्ग्रा खोला पुल (६ करोड ४९ लाख ६० हजार) तथा ३ र ४ नम्बर वडालाई जोड्ने ७४.५५ मिटर लामो २ स्पानको मसिने खोला पुल (६ करोड ५९ लाख ५० हजार रुपैयाँ) रहेका छन्। यी तीनवटै पुलको निर्माण पनि बानियाँ–हिराचन जेभीले गरेको हो।
२०७७ सालमै सुरु गरिएको पुल निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने योजना भए पनि विभिन्न प्राविधिक र प्रशासनिक जटिलताका कारण निर्माण सम्पन्न गर्न केही समय थप गरिएको थियो।
हेटौंडा उपमहानगरको वडा नं. १३ हुँदै मनहरी गाउँपालिकाको १ देखि ४ नम्बर वडा जोड्ने वैकल्पिक मार्गको विकासका लागि गाउँपालिकाले बहुवर्षीय योजना अन्तर्गत पुल निर्माणको ठेक्का लगाएको हो।
पुल निर्माण सम्पन्न भएसँगै साविकको हाँडीखोला क्षेत्रका किसानको कृषि उपज बजारीकरण सहज हुने र दैनिक आवागमनमा समेत सुधार हुने अपेक्षा गरिएको छ। अध्यक्ष कालाखेतीले पुल निर्माण सम्पन्नसँगै चार वटै वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै सन्तोष व्यक्त गरेका छन्।







